राप्रपा महाधिवेशन : कुन पदमा उम्मेदवारी दिन कति शुल्क ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन अन्तरगत विभिन्न पदमा उम्मेदवारी दर्ता गर्न शुल्क तोकिएको छ । पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्न एक लाख रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिए । यस्तै, उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक थापाले बताए ।
बुधबारबाट सुरु भएको राप्रपा महाधिवेशनले अध्यक्ष, १ महिलासहित ४ जना उपाध्यक्ष, १ महिलासहित ३ जना महामन्त्री र १४१ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुँदैछन् । निर्वाचन समितिका संयोजक थापाका अनुसार शुक्रबारदेखि मात्र निर्वाचन कार्यक्रम सुरु हुनेछ । बिहीबारसम्म मतदाता नामावली प्रकाशन गर्ने र शुक्रबार निर्वाचन कार्यक्रम सुरु गर्ने समितिको तयारी छ ।
देशभरबाट ४२ सय प्रतिनिधिहरू सहभागी रहेको बन्दसत्रमा राप्रपा अध्यक्ष पदको लागि कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गरेका छन् । अर्का अध्यक्ष पशुपतिशम्शेर जबरा भने पार्टी एकताका लागि सहमतिको आधारमा नेतृत्व चयन गर्नुपर्ने भन्दै कतै खुलेका छैनन् । यस्तै, नायिक रेखा थापाले पनि महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । यसअघि सो पार्टीका केन्द्रीय सदस्य समेत रहेकी नायिका थापाले (महिलातर्फ) महामन्त्री पदमा उम्मेदवारी दिने भएकी हुन् ।
