एउटा चुनाव हार्दैमा पार्टीको सिद्धान्त मर्दैन : कमल थापा

तु खबर संवाददाता
२०७८ मंसिर १५, बुधबार १६:४२
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा चुनावमा हार्दैमा पार्टीको सिद्धान्त नमर्ने बताएका छन् । बुधबार काठमाडौंमा भएको पार्टीको एकता महाधिवेशनको उद्घाटनसभालाई सम्बोधन गर्दै उनले पार्टीको मुल्याङ्कन गर्नका लागि एउटा चुनावमात्र पर्याप्त नहुने बताएका हुन् ।

‘राप्रपाको सफलता र असफलताको कथा एउटा चुनावबाट देखिँदैन,’ उनले भने, ‘गत निर्वाचनको पूर्वसन्ध्यामा पार्टी विभाजित भयो । काँग्रेससँगको सहकार्यमा इमानदारिता भएन ।’ उनले राप्रपालाई केवल दुई चार सिट बढाउने पार्टी बनाउनेमात्र होइन, देशको अग्रणी शक्तिका रुपमा स्थापित गराउनु अहिलेको आवश्यकता रहेको बताए ।

दुई/अढाइ वर्षको मेहनतपछि केही त्याग, केही असहज व्यवस्था गरेर भए पनि पार्टी एकता भएको भन्दै उनले भविष्यमा पार्टी टुक्रिन नदिन आफूसहित तीन जनाले गीता छोएर कसम खाएको पनि स्मरण गराए । अध्यक्ष थापाले पार्टीको अहिलेको नारा राजा आउ देश बचाउ भन्ने नभएर ‘जनता आउ राजालाई ल्याउ’ भन्ने रहेको बताए ।

थापाले सदन र सडकको बलमा नागार्जुनका राजालाई नारायणहिटीमा ल्याइछाड्ने पनि बताए । ‘हामीले सडक र सदन दुबै संघर्षको मैदानलाई प्रयोग गरेर राजतन्त्रको माहोल बनाउनुपर्छ’, थापाले भने । उनले संसदीय शक्ति र सडकको शक्ति दुबै प्रयोग गरेर हिन्दुराष्ट्र र राजसंस्था स्थापना गर्नुपर्नेमा जोड दिए ।