सर्वोच्चमा आजदेखि गोला प्रणाली लागू हुने

तु खबर संवाददाता
२०७८ मंसिर १५, बुधबार ०९:१६

काठमाडौं । सर्वोच्च अदालतमा आज (बुधबार) देखि गोला प्रणाली लागू हुने भएको छ । विहान १० बजे सबै न्यायाधीशहरु भेला भई गोटी तानेर इजलास गठन गर्ने र त्यसपछि मुद्दाको समूह छानेर सुनुवाइको सुरुवात गर्नेछन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रश्न उठेको भन्दै झण्डै एक महिनादेखि न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आइरहेका थिए ।

पेसी तोक्नका लागि गोला प्रणाली लागू गर्न सर्वोच्च अदालतको नियमावली संशोधन गरेको थियो । नियमावली कार्यान्वयन गर्ने बारेको सूचना सोमबार नेपाल राजपत्रमा पनि प्रकाशित भइसकेको छ । गोला प्रणाली लागू भएसँगै पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकारमा कटौती हुनेछ । यसअघि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले न्यायपालिकामा हुन सक्ने भ्रष्टाचार र अनियमितता रोक्न गोला प्रणालीमा जानुपर्ने सुझावसहितको प्रतिवेदन प्रस्तुत गरेको थियो ।