हेटौंडामा युवा संघद्वारा रक्तदान
मकवानपुर । नेकपा एमाले निकट युवा सङ्घले हेटौंडा–१३ पदमपोखरीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तसञ्चार केन्द्र हेटौंडामा रगत अभाव भएपछि युवा संघ नेपाल हेटौंडा उपमहानगर १२ र १३ नम्बर वडा कमिटीले संयुक्त आयोजनामा हेटौंडा–१३ पदमपोखरीमा रक्तदान कार्यक्रम गरेको हो । शुक्रबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो क्रममा प्रमुख अतिथि महतले रक्तदान जिवन दान रहेको बताए ।
हेटौंडामा रगतको अभाव भइरहेको समयमा रक्तदान गर्नु अत्यन्त महत्वपूण काम रहेको उनले बताए । रगत अभाव भइरहेको समयमा आम युवाहरुले उदारता देखाउनु महत्वपूर्ण कुरा रहेको बताए । कार्यक्रममा ६५ जनाले रक्तदान गरेको युवा संघ हेटौंडा उपमहानगरपालिका अध्यक्ष राजेश नगरकोटीले जानकारी दिए ।
युवा संघ नेपाल हेटौंडा उपमहानगर १२ नम्बर वडा कमिटी अध्यक्ष महेश भट्टराई र १३ नम्बर वडा अध्यक्ष सिन्धु लामा थोकरको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा एमाले युवा संघ नेपालका केन्द्रीय सदस्य नरेन्द्र भण्डारी र युवा संघ नेपाल हेटौंडा उपमहानगर कमिटीका अध्यक्ष राजेश नगरकोटी, एमाले जिल्ला सदस्य कृष्ण खतिवडा, रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंकप्रसाद दाहाललगायतको सहभागीता रहेको थियो ।
