मुख्यमन्त्री पाण्डेलाई विवेकशील साझा पार्टीले विश्वासको मत नदिने

तु खबर संवाददाता
२०७८ कार्तिक २२, सोमबार १५:०८
file-photo

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई विवेकशील साझा पार्टीले विश्वासको मत नदिने भएको छ । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालको अध्यक्षतामा आइतबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

उक्त बैठकले मन्त्रालय विभाजन गरी जम्बो मन्त्रिमण्डल बनाउने कार्य अनुचित भएकाले मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा प्रस्तुत गरेको विश्वासको मत सम्बनधी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेता पौड्यालले जानकारी दिए ।

प्रदेश सरकारले साविक मन्त्रालयहरू फुटाइ जम्बो मन्त्रिमण्डल गठन गर्ने तयारी गरिरहेकोले हाम्रो संसदीय दलको बैठकले मन्त्रालय फुटाउने कार्यको औचित्य पुष्टि हुन नसक्ने ठहर गरेको छ, उनले भने । भागबन्डाका निमित्त मन्त्रालय फुटाउँदा प्रदेशको प्रशासनिक संरचना नै अस्तव्यस्त हुने र प्रदेश कोषमा अनावश्यक रूपमा व्ययभार थपिने भएकाले मुख्यमन्त्री ज्यूलाई हामी विश्वासको मत दिँदैनौ, उनले भने ।

गएको कात्तिक ४ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले आज विश्वासको मत लिँदै छन् । कूल १०९ जना प्रदेशसभा सदस्य रहेको बागमतीमा सरकार टिकाउन ५५ मत आवश्यक रहँछ । संयुक्त चार दलीय गठबन्धनको ५९ सांसदको साथ पाएका पाण्डेले विश्वासको मत पाउने देखिएको छ । नेकपा एमालेबाट मुख्यमन्त्री भएकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेसंगै राजीनामा दिएकी थिइन् । एमालेमा कूल ५६ सांसद रहेकोमा १३ जनाले नेकपा एकीकृत समाजवादी रोजेपछि एमाले ४३ सांसदमा खुम्चिन पुगेको थियो ।