मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासको मत लिने भएका छन् । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता पाण्डे गएको कात्तिक ४ गते चार दलीय संयुक्त गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको पहिलो बैठकले नै कात्तिक २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिने बारे निर्णय गरी प्रदेशसभा सचिवालयमा आधिकारिक पत्रसमेत दर्ता गरिएको छ ।
बागमती प्रदेशसभामा अहिले १०९ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । हालको अवस्थामा पाण्डे नेतृत्वको सरकारले सजिलै विश्वासको मत प्राप्त गर्ने देखिएको छ । सरकार टिकाउन ५५ मत आवश्यक रहन्छ । गठबन्धनमा रहेका दलहरुसँग ५९ मत रहेको छ । नेकपा माओवादी केन्द्रसँग २३, कांग्रेससंग २२, नेकपा (एस) संग १३ र जनता समाजवादीसँग १ मत रहेको छ ।
मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको र मुख्यमन्त्री कार्यालयबाट प्राप्त पत्रअनुसार २२ गते विश्वासको मत लिने व्यवस्थापन मिलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । विश्वासको मत पाएसंगै मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।
एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेपछि कात्तिक १० गते पदबाट राजीनामा दिएकी थिइन् । ५६ सांसद रहेको एमाले पार्टी विभाजनमा १३ सांसदले एकीकृत समाजवादी रोजेपछि ४३ जनामा खुम्चिएको थियो । अल्पमतमा परे पनि केही समय सत्ता लम्ब्याएकी शाक्यले कात्तिक १० मा पदबाट राजीनामा दिएकी हुन् ।