मानव बेचबिखनमा सङ्लग्न पक्राउ

रासस
२०७८ कार्तिक १५, सोमबार १६:५९

काठमाडौँ । नेपाल प्रहरीले मानव बेचबिखन कार्यमा सङ्लग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विसं २०७४ साउनमा एक महिलालाई विभिन्न प्रलोभनमा पारेर भारतको कोठीमा लगेर बेच्ने नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भई काठमाडौँको तारकेश्वर बस्ने ३९ वर्षीय जान्द्रे तामाङ भन्ने रामबहादुर तामाङलाई शनिबार फुटुङबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक अनुरागकुमार द्धिवेदीले पीडितलाई खान, बस्न र तलबको प्रलोभन देखाएर भारतको नयाँ दिल्लीस्थित जिबी रोडको ५९ भन्ने कोठीमा पुयाएर बिक्री गरको पीडितको जाहेरीका आधारमा तामाङलाई पक्राउ गरिएको जानकारी दिए । मानव बेचबिखनमा परेकी पीडित पछिल्लो समय बिरामी परेपछि चितवनकी एक महिलाको सहयोगमा विसं २०७७ चैतमा उद्धार गरेर काठमाडौँ ल्याइएको थियो । पीडितले विसं २०७८ वैशाखमा दिएको जाहेरीका आधारमा तामाङलाई पक्राउ गरिएको प्रवक्ता द्धिवेदीले बताए । पक्राउ परेका तामाङलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान तथा कारबाही हुने ब्यूरोले जनाएको छ ।

स्कुटर दुर्घटनामा एकको मृत्यु
दाङ । दाङको दूधरासमा रा ४ प ४९७३ नं को स्कुटर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १८ का ३५ वर्षीय मधुसुदन चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए । स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि अहिले अस्पतालमा राखिएको छ ।