थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि, ६६४ जना संक्रमणमुक्त

तु खबर संवाददाता
२०७८ कार्तिक ११, बिहीबार १६:५६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३५५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ५९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, ८ हजार ८४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ र २ हजार ५०७ जनाको एन्टीजेन परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ११ हजार ४०७ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ३६९ जना पुगेको छ ।

तीमध्ये हालसम्म ७ लाख ८९ हजार ७८९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने निको भएका छन् । पछिल्लो २४ घण्टामा ६६४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, देशभर कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको कूल संख्या ११ हजार ३८२ जना पुगेको छ । देशभर पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर १० हजार २३६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर एक लाख एक हजार ४७५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।