बागमती प्रदेशको मुख्यमन्त्री पदमा राजेन्द्र पाण्डे नियुक्त

तु खबर संवाददाता
२०७८ कार्तिक ११, बिहीबार १६:०८

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री पदमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई नियुक्त गरेका छन् । बिहिबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहकाबीच पाण्डेलाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो । प्रदेशसभाका ५९ जना सदस्यहरुको समर्थनसहित मुख्यमन्त्री पदमा पाण्डेलाई नियुक्ति गर्न दावीपत्रसहित हिजो प्रदेश प्रमुख सचिवालयमा दर्ता गरिएको थियो ।

गठबन्धनको तर्फबाट प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जसपाका सांसदहरुले पाण्डेलाई समर्थन गरेका हुन् ।
मुख्यमन्त्री राजेन्द्र पाण्डेले आजै ४ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा कृष्ण प्रसाद खनाल, सामाजिक विकासमन्त्रीमा कुमारी मोक्तान र भौतिक पूर्वाधार विकासमन्त्रीमा कृष्णलाल भँडेल नियुक्त भएका हुन् ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेकपा एमाले, माओवादी केन्द, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी, राप्रपा र जसपाको गरी कूल १०९ जना सदस्यहरु छन् । नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रिहरुले पद र गोपनियताको सपथसमेत लिएका छन् ।