सर्वोच्च अदालतका पूर्वन्यायाधीश लम्सालको निधन
काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ । लम्सालको आज (बिहिबार) बिहान निधन भएको हो । ८४ वर्षीय लम्सालको चाबहिलको मेडिकेयर अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी स्वास्थ्य समस्याका कारण केही दिनदेखि मेडिकेयर अस्पतालमा उपचाररत थिए । लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए । उनले नेतृत्व गरेर तयार पारेको हुनाले उक्त प्रतिवेदनलाई लम्साल आयोगको प्रतिवेदन भनी चिन्ने गरिन्छ ।
बैंकिङ कसूर मुद्दामा फरार महिला पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं टोखा नगरपालिका–५ वसुन्धरा बस्ने अर्घाखाँची पाणिनी गाउँपालिका–८ घर भएकी ३५ वर्षीया अप्सरा खातुनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनको २०७७ मंसिर १६ गतेको फैसलाले ७ दिन कैद र ७३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भएकोमा खातुन फरार रहेकी थिइन् ।
उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका(१० चुन्नीखेलबाट पक्राउ गरेको हो । खातुनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी नविल बैंक लिमिटेडको चेक काटी दिएको घटनामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको प्रहरीले जानकारी दिएको छ । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।
