बागमती प्रदेश : नयाँ सरकार गठनका लागि गठबन्धनका दलहरुले आजै दाबी पेश गर्ने

तु खबर संवाददाता
२०७८ कार्तिक १०, बुधबार १७:१२
file-photo

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनका दलहरुले आज नै प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष मुख्यमन्त्री पदको दाबी पेश गर्ने भएका छन् । प्रदेशसभामा आवद्ध गठबन्धनका दलहरु नेकपा माओवादी, नेपाली कँंग्रेस, नेकपा एकीकृत समाजवादी र जसपाले सरकार गठनका लागि आजै साँझ दाबी पेश गर्ने भएका हुन् ।

नेकपा एकीकृत समाजवादी बागमती प्रदेशका दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार गठनका लागि आजै दावी पेश गर्ने तयारी भइरहेको नेपाली कांग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाले जानकारी दिए । गठबन्धनका तर्फबाट आज मुख्यमन्त्रीमा पाण्डेले लिखित रुपमा दावी पेश गर्ने भएका हुन् ।

नेता पाण्डे नेतृत्वको सरकारमा गठबन्धनका तर्फबाट सबै दलका उप नेताहरु मन्त्री रहने गरी दावी हुने उनको भनाई छ । उनका अनुसार तत्काल प्रदेश सरकारमा नेकपा मओवादी केन्द्रको तर्फबाट दलकी उप–नेता कुमारी मोक्तान, कांग्रेसका उप–नेता कृष्णलाल भडेल र नेकपा एकीकृत समाजवादी दलका उप–नेता कृष्ण खनालले जिम्मेवारी पाउने छन् ।