हेटौंडाका न्यौपाने र लामा पक्राउ

तु खबर संवाददाता
२०७८ कार्तिक ९, मंगलवार ०८:५३

पर्सा । विरगञ्जबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विरगञ्ज महानगरपालिका–१६ वाईपासबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ बस्ने २६ वर्षीय सुमन न्यौपाने र २८ वर्षीय रोशन लामा रहेका छन् ।

उनीहरुलाई प्रहरी चौकी गणेशटोल र जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । प्रहरीले न्यौपाने र लामा सवार बा.४ च १०२१ नम्बरको कारलाई रोकेर जाँच गर्दा कारबाट लागुऔषध वीनसिरेक्स १ सय एमएलको २३७ बोत्तल र नाईट्राभेट ट्याब्लेट ६०० पिस बरामद भएपछि निजहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।