सीके राउतका १३ कार्यकर्ता पक्राउ

तु खबर संवाददाता
२०७८ कार्तिक ४, बिहीबार १५:१७

धनुषा । धनुषा प्रहरीले सीके राउत नेतृत्वको जनमत पार्टीका १३ कार्यकर्तालाई पक्राउ गरेको छ । खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नाला तथा ढल निर्माणमा अनियमितता भएको राउतका कार्यकर्ताले बिहीबार निमित्त प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए । जनकपुरधामको रामानन्द चोकस्थित खानेपानी संस्थानको कार्यालयमा लाठी सहित पुगेका जनमत पार्टीका दर्जनौँ कार्यकर्ताहरूले निमित्त प्रमुख यादवलाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर नगर परिक्रमा गराएका थिए ।

निमित्त प्रमुख यादवको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर अर्धनग्न रुपमा दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । यसैबीच आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै अन्य नेता कार्यकर्ता जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन् ।