गृहमन्त्री खाँडद्वारा विप्लव नेतृत्वको नेकपासँगको सहमति कार्यान्वयनको पहल

तु खबर संवाददाता
२०७८ कार्तिक १, सोमबार ०८:४३
file-photo

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनको पहल सुरु गरेका छन् । अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा आइतबार गृहमन्त्री बालकृष्ण खाणले कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्बबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग छलफल गरेका हुन् ।

सो छलफलका क्रममा विगतका सहमति कार्यान्वयनका लागि भएका काम तथा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको थियो । मन्त्री खाँणले सहमति कार्यान्वयनका लागि अहिलेसम्म उनले नेकपाका नेतासँग गरेको कुराकानी र काम कारवाहीबारे जानकारीसमेत दिएका छन् । सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएको थियो । छलफलमा कानून सचिव सापकोटा र महान्यायाधिवक्ता खातीले कस्ता मुद्दा खारेज गर्न मिल्ने र जेलमा रहेका कैदी बन्दीलाई रिहाइ गर्न मिल्ने भन्नेबारे जानकारी दिएका थिए ।

कानून सचिव सापकोटाले गृह मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयबाट रिहाइका लागि आएको सिफारिसअनुसार मन्त्रालयमा आएका अधिकांशको रिहाइ भइसकेको र केही फिर्ता गर्न नमिल्ने प्रकृतिका मात्रै बाँकी रहेको जानकारी गराएका थिए । फेरि सहमति कार्यान्वयनका लागि बाँकी रहेका विषयमा एकपटक छलफल गर्ने र तयारी पूरा भएपछि नेकपाका नेतासँग बसेर टुङ्ग्याउने सहमति भएको जनाइएको छ ।