प्रहरीको गोली लागेर चार जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ आश्विन २५, सोमबार ०८:०९
सांकेतिक तस्वीर

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइतेमध्ये चार जनाको मृत्यु भएको भैरवाको यूनिभर्सल मेडिकल कलेजका एक अधिकारीले जानकारी दिए । मृत्यु भएकामध्ये तीन जनाको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल जनाएको छ ।

मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का रमेश परियार रहेका छन् । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अन्य तीनको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृत्यु भएकाहरु सर्वसाधारण हुन् । अस्पतालमा अन्य पाँच प्रहरी र चार सर्वसाधारणको उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रहरीले अस्थायी रूपमा बनाइएका टहराहरूसमेत भत्काएको छ । झडपमा परी कैयौँ घाइते भएका छन् । सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो , तर, अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ ।