मकवानपुरका दुईसहित ३ जना पक्राउ

तु खबर संवाददाता
२०७८ आश्विन २४, आईतवार १५:२०

काठमाडौं । मान्छे पासो लागेर मरेको डोरी महँगोमा बिक्री हुन्छ भन्ने अन्धविश्वासमा महिलाको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले नुवाकोट घर भई ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा बस्ने ४५ वर्षीया कमला तामाङ हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुर घर भएका २३ वर्षीय सविन प्रजा, उनकी पत्नी प्रविना प्रजा माझी र मोरङ घर भएका २० वर्षीय सुमन मगर रहेका छन् । मान्छे मरेको डोरीको ‘पासो’ महँगोमा बिक्री हुने हल्ला सुनेपछि उनीहरुले योजनाबद्ध रुपमा कमलाको हत्या गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रहरीको अनुसार, कमलाको हत्या गरेको भोलिपल्ट बिहान उनीहरुले नुहाइ धुवाई गरेर पासोलाई पूजा गरेका थिए । मान्छे मार्न प्रयोग भएको पासो ऐनामा नदेखिने भ्रम उनीहरुलाई थियो । ऐनामा पासो देखिएपछि सो डोरी उनीहरुले खोलामा बगाएको अनुसन्धानबाट थाहा भएको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।