उद्योग मन्त्री हमालद्वारा राजीनामा दिने घोषणा
काठमाडौं । सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । हमालले आज (आइतबार) प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा दिने घोषणा गरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका उनले पदबाट राजीनामा दिने भएका हुन् ।
‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म । किन राजीनामा दिने भनेर नेताहरुले पनि भनेका छन् तर आज राजीनामा दिन्छु,’ उनले भने । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् । मन्त्री हमाललाई गत शुक्रबार मात्रै प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम उद्योग, वार्णिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरेकी थिइन् । उनीसँगै प्रधानमन्त्री देउवाको नेतृत्वमा २५ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको थियो ।
