एकै परिवारका ३ जना मृत अवस्थामा फेला
जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । नगरपालिकाको वडा नम्बर ७ फुलगामा टोलकी २४ वर्षीया गुडिया साह, उनका ५ बर्षीय छोरा अभिषेक र ३ बर्षीय आदित्य साह मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषा प्रहरीका अनुसार, उनीहरुको शव आफ्नै घरभित्रै फेला परेको हो । गुडियाले दुबै छोरा हत्या गरी आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । मृतक तिनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र अन्य अनुसन्धान भइरहेको जनाइएको छ ।
चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ
वीरगञ्ज । प्रहरीले चोरीको मोटरसाइकलसहित वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्ने २४ वर्षीय अरमान देवान, ३० वर्षीय सदाम अन्सारी र २७ वर्षीय सहमत अन्सारी रहेका छन् ।
गत असोज २२ गते दिउँसो वीरगञ्ज महानगरपालिका–१० स्थित प्रभु बैंक अगाडिबाट वीरगञ्ज महानगरपालिका–१५ बस्ने विवेक कुमार यादवको ना ४८ प ९३६९ नम्बरको मोटरसाइकल चोरी भएको थियो । सूचना पाएलगत्तै खटिएको टोलीले खोजतलासको क्रममा चोरी भएको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाविरुद्ध चोरीसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
