स्रोत नखुलेको १० लाखसहित पक्राउ

तु खबर संवाददाता
२०७८ आश्विन २३, शनिबार ०९:२०
सांकेतिक तस्बिर

जनकपुरधाम । महोत्तरी प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रहकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा महोत्तरीकै मनरा सिस्वा नगरपालिका–५ कटैया बस्ने ३४ वर्षीय दीपेन्द्रकुमार साह र भंगहा नगरपालिका–७ बस्ने १८ वर्षीया बिन्दा कुमारी साह रहेका छन् ।

सदरमुकाम जलेश्वर नगरपालिका ८ बज्राहीस्थित भित्री सडकखण्डमा नम्बर नलेखिएको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त रकम बरामद भएपछि निजहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दीपेन्द्रले पिठ्युमा बोकेको झोलाभित्र राखेको पाँच लाख, मोटरसाइकलको सिटमुनिमा लुकाइएको २ लाख, मोटरसाइकलको एयर फिल्टरको पल्लाभित्र लुकाइएको तीन लाख र उनको खल्तीबाट चार हजार चार सय गरी १० लाख चार हजार चार सय रकम बरामद भएको थियो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।