गाई काटेको आरोपमा पक्राउ परेकालाई धरौटीमा रिहा गर्न आदेश
मकवानपुर । मकवानपुर जिल्ला अदालत हेटौंडाले गाई काटेको आरोपमा पक्राउ परेका ९ जनालाई धरौटिमा रिहा गर्न आदेश दिएको छ । सोमबार न्यायाधीश कमलराज विष्टको इजालशले गाई काटेको आरोपमा पक्राउ परेको मकवानपुरका ९ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतले पक्राउ परेका १० जनामध्ये एक जना बालकलाई अभिभावकको जिम्मा लगाएको र बाँकी ९ जनालाई जनालाई जनही ४० हजार धरौटीमा रिहा गर्न भनिएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । मकवानपुर प्रहरीले गत असोज ३ गते बकैया–११ बाट ५० किलो गाईको मासुहित १० जनालाई पक्राउ गरेको थियो । तीमध्ये एक जना बालकलाई अभिभावकको जिम्मा लगाएको र अन्यलाई धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको हो ।
पक्राउ पर्नेहरुमा बकैया–११ कालिदमार बस्ने ३८ वर्षीय जनक बहादुर लो, सोही स्थानका ३५ वर्षीय राज लो,४० वर्षीय रबिन्द्र लो, सिमाटार बस्ने ४५ वर्षीय राज कुमार घलान,४८ वर्षीय प्रलाद भक्त न्यासु, १९ वर्षीय सोमार भोलन, ५० वर्षीया सन्च माया भोलन, १६ वर्षीय सन्देश बिक, ४० वर्षीय सुन बहादुर तामाङ, ३६ वर्षीय फुलमाया थिङ रहेका थिए । प्रहरीले पक्राउ परेको सबै जनामाथि गौवधसम्बन्धी मुद्दा चलाएको थियो ।
