हङकङ पठाउन लागेको चरेससहित एक जना पक्राउ

तु खबर संवाददाता
२०७८ आश्विन १४, बिहीबार १७:१६

काठमाडौं । हङकङ पठाउन लागेको लागुऔषध चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ललितपुरको मिनभवनबाट एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई लागुऔषध नियन्त्रण ब्युरो र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले पक्राउ गरेको हो।

पक्राउ परेकाको भने नाम, थर नखुलेको प्रहरीले जनाएको छ । उनीबाट अन्दाजी साढे दुईदेखि तीन किलो चरेस बरामद भएको प्रहरी स्रोतले जनाएको छ । सो चरेस कार्गोबाट हङकङ पठाउन लागेको खुलेको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

हात्तीको आक्रमणबाट महिलाको मृत्यु
झापा । झापाको भद्रपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको भद्रपुर नगरपालिका– १० देउनियामा निउरो टिपिरहेको अवस्थामा विर्तामोड नगरपालिका वडा नम्वर ८ नेपाल चोक बस्ने ५० वर्षीया लतुमाई मर्डीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

निउरो टिपिरहेको अवस्थामा जंगलबाट आएको जंगली हातीले मर्डीलाई सुँडले च्यापी चन्द्रगढी सामुदायिक वनतर्फ लगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज (बिहिबार) दिउँसो १२ बजेदेखि बेपत्ता भएकी मर्डीको अपरान्ह ४ बजे शव फेला परेको झापा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आज बिहान मर्डी दम्पती देउनियाँ खोलाको किनारमा निउरो टिप्न गएका थिए । हात्तीले बेपत्ता बनाएपछि प्रहरी चौकी गरामनीबाट प्रसनिको टोली, जिप्रका झापाबाट प्रनानिको ७ जनाको टोली, नेपाली सेनाको लप्टनको कमाण्डमा ४० जनाको टोली, सशस्त्र प्रहरीको सप्रनिको कमाण्डमा ११ जनाको टोली, जिल्ला वनको कर्मचारीहरू र स्थानीय समेत बेपत्ता महिलाको खोजीमा जुटेको थियो । प्रहरीले बेपत्ता मर्डीले लगाएको चप्पल, पोते र अलिकति कपालको गुजुल्टो शव फेला पर्नु अगाडि नै भेटाएको थियो ।