सर्वोच्चद्वारा राजनीतिक अध्यादेशविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

तु खबर संवाददाता
२०७८ आश्विन ८, शुक्रबार १६:०६

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गत भदौ २ गते केन्द्रीय कमिटी वा संसदीय दलको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेशअनुसार एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएका छन् । दुवै दललाई निर्वाचन आयोगले गत भदौ ९ गते दल दर्ताको प्रमाणपत्र समेत दिइसकेको छ । तर, अध्यादेश र त्यसका आधारमा भएको दल दर्ता गलत भएको भन्दै सर्वोच्चमा अधिवक्ता प्रवेश सुवेदी, अर्जुनकुमार अर्याल, दलबहादुर धामी लगायतले रिट हालेका थिए । भदौ ११ र असोज १ मा हेर्न नभ्याइनेमा परेको रिटमा शुक्रबार संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो ।