प्रतिनिधिसभा बैठक : नाराबाजीका बीच बजेटसम्बन्धी २ विधेयक पारित
काठमाडौं । प्रतिनिधिसभाको आज (बिहिबार) बसेको बैठकले बजेटसम्बन्धी दुई वटा विधेयक पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच पनि बजेटसम्बन्धी दुई वटा विधेयक पारित भएको हो । बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएको हो ।
अब सरकारलाई बजेट खर्च गर्न र ऋण उठाउन बाटो खुलेको छ । बिहीबार बैठक सुरु हुनेवित्तिकै सदाझैं एमाले सांसदहरु संसदको वेल घेरेर नाराबाजी गरेका थिए । तर, सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारबाही अघि बढाए । उनले अर्थमन्त्री जनार्दन शर्मालाई अर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पेश गर्न अनुमति दिए र निर्णयार्थ पनि पेश गरे । उनले विधेयक बहुमतले पारित भएको घोषणा गरे ।
विधेयक पारित भएपछि प्रतिनिधिसभाको बैठक असोज ११ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभाको बैठक अघि राष्ट्रियसभाको बैठक बसेको थियो । राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयकलाई बहुमतले पारित गरेको हो । गत सोमबार बसेको प्रतिनिधिसभाको बैठकले आगामी आर्थिक वर्षका लागि बजेट र दुई वटा आर्थिक विधेयक स्वीकृत गरेको थियो ।
