राष्ट्रियसभा बैठक : विनियोजित विधेयक २०७८ पारित
काठमाडौं । राष्ट्रियसभाको आज (बिहिबार) बसेको बैठकले विनियोजन विधेयक (बजेट) २०७८ पारित गरेको छ । बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयकलाई बहुमतले पारित गरेको हो ।
अब विनियोजन विधेयकलाई राष्ट्रियसभाले आजै सन्देशसहित प्रतिनिधिसभामा पठाउने छ । आजै बस्ने प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयकलाई ग्रहण गरी सभामुखले प्रमाणित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाउने संसद सचिवालयले जनाएको छ । विनियोजन विधेयक पारित भई प्रमाणीकरण भएमा सरकारलाई आजैबाट खर्च गर्न सक्ने बाटो खुल्नेछ ।
गत सोमबार बसेको प्रतिनिधिसभाको बैठकले आगामी आर्थिक वर्षका लागि बजेट र दुई वटा आर्थिक विधेयक स्वीकृत गरेको थियो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए । सो विधेयक सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत गरेको थियो ।
