नगर सभापति भएपछि कांग्रेसको भातृ एवम् सुभेच्छुक संगठन बलियो बनाउँछु – उत्सव इटेनी

तु खबर संवाददाता
२०७८ आश्विन ५, मंगलवार १७:१८

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको चुनावी सरगर्मी सुरु भएको छ । यस अघि भदौ २७ गतेका लागि तय भएको स्थानीय नगर/पालिकाको अधिवेशन आगामी भदौ असोज ९ गतेका लागि सारिएको छ । महाधिवेशनले उत्साह छाएको बेला स्थानीय क्षेत्रमा कांग्रेस नेताहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् । कांग्रेसको राजनीतिमा बिगतको तुलनामा यस पटक युवा पुस्ताको सक्रियता उल्लेख्य रुपमा बढेको देखिन्छ ।

यसैबीचमा कांग्रेस नेता उत्सव इटेनीले आसन्न अधिवेशनमा हेटौंडा उपमहानगरपालिकाको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । १६ बर्षको उमेरदेखि नै कांग्रेसमा सक्रिय भएका उनी २०५१ सालमा क्षेत्रीय प्रतिनिधि चयन भए । प्सल टु सम्मको अध्ययन पुरा गरेका इटेनी विद्यार्थी जीवनदेखिनै कांग्रेसमा सक्रिय थिए । पार्टीको १२ औँ महाधिवेशनपछि जिल्ला सदस्यको जिम्मेवारी सम्हालेका उनले २०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रचारप्रसार संयोजक भएर काम गरे ।

१३ औँ महाधिवेशनमा जिल्ला कोषाध्यक्ष पदमा झिनो मतले पराजित भएका उनी थप उत्साह र जाँगरका साथ पार्टीका गतिविधिमा सक्रिय भइरहे । कोरोना संक्रमणको जोखिमका कारण सरकारले लकडाउन गरेका बेला उनले नेपाली कांग्रेस मकवानपुरको कोभिड अनुगमन समितिको संयोजकको जिम्मेवारीमा रहेरे कार्यकुशलता प्रदर्शन गरे । २०३० मंसिर ८ गते हेटौंडामा जन्मिएका इटेनीले तत्कालिन समयमा पञ्चायती व्यवस्था तथा २०६२/६३ मा निरंकुश राजतन्त्रविरुद्ध अग्रभागमा रहेर आवाज उठाउनुको साथै पार्टीका विभिन्न आन्दोलनका कार्यक्रममा सक्रिय उपस्थिति जनाउँदै आएका छन् ।

आफ्नो उपस्थितिलाई स्थानीय क्षेत्रमा बलियो बनाउने र स्थानीय जनताकै सेवामा आफुलाई समर्पित गराउने उदेश्यसहित उम्मेदवारी घोषणा गरेको उनी बताउँछन् । राजनीतिसंगै सामाजिक क्षेत्रमा उनको उपस्थिति बलियो देखिन्छ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्ष, नारायणी पेट्रोलियम विक्रेता संघका अध्यक्षको जिम्मेवारीमा रहेर काम गरेका उनको विभिन्न सहकारी संस्थाहरुमा पनि आवद्धता रहेको छ । नगरको १९ वटै वडाहरुमा भातृ संगठनलाई मजबुद बनाउने, विभिन्न संघ संस्थाहरुमा कांग्रेसको नेतृत्व स्थापित गराउने, सबै वडाको क्रियाशील सदस्यहरुको अभिलेख तयार गरी निरन्तर सम्पर्कमा रहने, स्थानीयस्तरमा कांग्रेसको संगठन मजबुद बनाएर आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउनेलगायत उनका एजेण्डा छन् ।

गाउँगाउँमा पुगेर त्यहाँको समस्या पहिचान गरी समाधानको प्रयास गर्ने, वडातहसम्म कांग्रेसको संगठन चुस्त दुरुस्त बनाउने, कुशल एवम् व्यवस्थित संगठन विस्तार गर्ने र गुट उपगुटको राजनीति अन्त्य गर्दै पार्टी र कार्यकर्ताप्रति इमान्दार नेतृत्व चयन गर्ने आफ्नो चाहाना रहेको उनले बताए । आफ्नो टिमको सचिव पदमा युवा नेता हर्करत्न लामा र हेटौंडा १ का वडा अध्यक्षसमेत रहेका सचिव न्यौपाने उम्मेदवार रहने उनले बताए । अन्य पदहरुमा भने उम्मेदवार कसलाई बनाउने भन्ने सन्दर्भमा छलफल जारी रहेको र केही दिनमानै टुंगो लाग्ने उनले बताए । हेटौंडा उपमहानगरका १९ वटा वडामा वडासभापति र क्षेत्रीय प्रतिनिधिसमेत गरी कूल ४२० जना मतदाता रहेका छन् ।