नारी संरक्षण केन्द्रद्वारा सहयोगीलाई सम्मान

तु खबर संवाददाता
२०७८ आश्विन ४, सोमबार ०८:४९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित नारी संरक्षण केन्द्रले सहयोगी संघसंस्थाहरुलाई सम्मान गरेको छ । बेचबिखनमा परेका तथा विपन्न परिवारका बालबालिकाको संरक्षण गर्दै आएको संस्थाले आफ्नो २० औं साधारणसभाको अवसरमा आइतबार सहयोगी संघसंस्थालाई सम्मान गरेको हो ।

कार्यक्रम संस्थाका उपाध्यक्ष भिष्मराज सापकोटाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको हो । साधारणसभामा नारी संरक्षण केन्द्रकी सचिव प्रतिकला चौधरीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संरक्षण र शिक्षा परियोजना अन्तर्गत केन्द्रले २ जना बालक र २६ जना बालिकालाई आवासीय सुविधासहित संरक्षण गरिराखेको जानकारी दिइन् । संरक्षित बालबालिकाको परिवारको आयआर्जनका लागि सिलाई तालिमका साथै उपकरण सहयोग गर्दै आएको उनले बताइन् । आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनको मापदण्ड लागू गर्न भने कठीन भएको सचिव चौधरीको भनाइ छ ।

यस्तै नारी संरक्षण केन्द्रकी कोषाध्यक्ष प्रिस्किला तामाङले गत आर्थिक बर्ष २०७७/७८ मा ८७ लाख ३१ हजार अनुदान सहयोग प्राप्त भएको र ८६ लाख २० हजार रुपैयाँ खर्च भएको जानकारी दिइन् कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको पनि उपस्थिति रहेको थियो ।