हेटौंडाको दुई वडामा अभिमुखीकरण कार्यक्रम संचालन
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको दुई वटा वडामा उपभोक्ता सचेतना अभिमुखीकरण कार्यक्रम संचालन भएको छ ।उपमहानगरपालिकाको आयोजनामा उपभोक्ता सचेतना अभिमुखिकरण कार्यक्रम संचालन भएको हो ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ र वडा नम्वर १९ मा संचालन भएको हो । कार्यक्रममा सामाजिक विकास महाशाखाका प्रमुख लामिछाने र उपभोक्ता हित संरक्षण मञ्च बागमती प्रदेशका अध्यक्ष बासु खतिवडाले प्रशिक्षण दिएका थिए ।
विभिन्न टोल विकास संस्थाका ४१ जना प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष रामकुमार पुडासैनी, उपमहानगरपालिकाका सामाजिक विकास महासाखाका प्रमुख विष्णु कुमारी लामिछाने लगायतकाको आतिथ्यता रहेको थियो ।
बागमती प्रदेशमा ५० वटा ऐन जारी
मकवानपुर । बागमती प्रदेशमा हालसम्म ५० ऐन जारी भएको छ । प्रदेश राजपत्रमा जारी गरिएको ५१ ऐनमध्ये ११ वटा ऐनको संशोधन गरिएको छ । यसैगरी प्रदेशमा ३ वटा अध्यादेश प्रस्थापन भएको छ । नियमावली २१ वटा जारी भएकोमा ९ वटा संशोधन भएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै विनियमावली १, संसोधन १ गरी २ वटा जारी भएको छ । निर्देशिका २ वटा जारी भएकोमा १ संशोधन भएको छ । कार्यविधि १८ वटा प्रदेश सरकारले जारी गरेको छ भने ३ वटा संशोधन गरेको छ । मापदण्ड सम्बन्धी २ ऐन जारी भएको छ । ७ आदेश सरकारले जारी गरेकोमा ५ वटा संशोधन भएको छ भने २ वटा खारेजी भएको मन्त्रालयले जनाइएको छ ।
