हेटौंडा उपमहानगरपालिकाबाट एक वर्षमा ७४७४१ वटा सिफारिस
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा गत आर्थिक वर्षमा झण्डै ७५ हजार वटा सिफारिस भएका छन् । गत आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न प्रकारका ७४ हजार ७ सय ४१ वटा सिफारिस गरेको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले नागरिकतासँग सम्बन्धित ७ हजार ७ सय ७२ वटा, चौहद्दीसँग सम्बन्धित १० हजार ५० वटा, नाता प्रमाणित सम्बन्धित १ हजार १ सय ८३ वटा, खानेपानी तथा बिजुली ३ हजार ५ वटा, वस्तुगत विवरण प्रमाणित सम्बन्धि ९ हजार ४ सय १८ वटा, जग्गा नामसारी सम्बन्धित १ हजार ८ सय ५४ वटा, नातासम्बन्धित ८ सय ३४ वटा र अन्य ४० हजार ६ सय २५ वटा सिफारिसहरु गरेको जनाइएको छ ।
हेटौंडाका १९ वटा मध्यमा १८ वटामार्फत अनलाइन व्यक्तिगत घटना दर्ताको काम हुँदै आएको छ । एउटा वडामा भने अनलाइन मार्फत व्यक्तिगत घटना दर्ताको काम सुरु गर्ने चरणमा रहेको हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । उनका अनुसार, गत आर्थिक वर्ष २०७७/०७८ मा अनलाइन तथा अफलाइन प्रणालीबाट दर्ता भएका घटना दर्ताहरु क्रमशः जन्म दर्ता ३ हजार ४ सय १८ जना, मृत्यु दर्ता १ हजार २ सय ८५ जना, विवाह दर्ता १ हजार ९ सय ५९ जनाले गरेका छन् । यसैगरी, १ सय ३६ दम्पतीहरुले सम्बन्ध विच्छेद गरेका छन् भने दुई हजार २ सय १७ परिवार बसाई सरी आएका तथा गएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
