हात्ती लखेट्न गएका मकवानपुरका तामाङको करेन्ट लागेर मृत्यु
मकवानपुर । मकवानपुरमा जंगली हात्ती लखेट्न जाँदा स्थानीयले राखिएको तारमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर ६ बस्ने ३४ वर्षीय रामलाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, मंगलबार राति खेतमा जंगली हात्ती आएर खेतमा बाली खान थालेपछि हात्ती लखेट्न गएका रामलाल जङ्गली जनवारबाट बालीनाली जोगाउन स्थानीयले राखिएको तारमा करेन्ट लागेर गम्भी घाइते भएका थिए । घाइते उनको चितवनको भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, जिल्लाको भीमफेदी गाउँपालिकामा मंगलबार राति नै जङ्गलमा पाहा (भ्यागुता प्रजातिको जीव) खोज्न गएका दुई युवकको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका ५ माथिल्लो ज्यामिरेका नवीन र राजन दोङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, उनीहरु मंगलबार राति पर्याप्त पाहा पाउने धुन्धेरे खोलातर्फ गएका थिए । पाहा खोज्न गएका उनीहरु आज बिहान अबेरसम्म घर नफर्किएको र खोजीकार्य गर्दा ११० मिटर उचाई रहेको धुन्धुरे खोलामा शव फेला परेको हो । उक्त घटनाको विषयमा खबर पाउनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीको टोली पुगेर मुचुल्काको काम पुरा गरी शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । दीर्घ रोगहरुबाट मुक्त हुन पाहाको शिकार गरी मासु खाने चलन छ । मकवानपुरको भीमफेदी, कैलाश, इन्द्रसरोवर गाउँपालिकालगायत विभिन्न स्थानीय तहमा रातमा मात्रै आहाराका लागि खोँचहरुबाट निस्कने पाहाको शिकारका लागि मानिसहरु जङ्गल जाने गर्दछ ।
