असोज १० बाट बैंक तथा वित्तिय संस्थाले नयाँ नोट वितरण गर्ने
गत बर्षको दशैंमा कोरोनाको जोखिमका कारण नयाँ नोट वितरण नगरेको राष्ट्र बैंकले यो बर्ष भने नोट वितरण गर्ने तयारी थालेको छ । बैंकले धेरै भीड नहोस् भन्नका लागि अहिलेदेखिनै नयाँ नोट वितरण सुरु गर्न लागिएको जनाइएको छ ।
राष्ट्र बैंकले असोज ४ गतेदेखि नै नयाँ नोट वितरण सुरु गर्ने जनाएको छ । तर अन्य बैंक तथा वित्तिय संस्थाहरुले भने दशैंको १५ दिन अघिदेखि मात्रै वितरण आरम्भ गर्ने छन् ।
यद्यपि राष्ट्र बैंकमै आउने सर्वसाधारणलाई अहिले नयाँ नोट सटही सुविधा दिइएको जनाइएको छ । धेरै भीड नहुने उदेश्यले आउने सेवाग्राहीलाई सो सुविधा प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।
सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट पाउनेछन् । यो ५ देखि १ सय रुपैयाँसम्मको एकरएकवटा बन्डल हो ।
बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट दिने योजना बनाएको छ । सम्बद्ध बैंकमा ढुकुटीको क्षमता, ग्राहकको मागलगायत आधारमा क, ख र ग वर्गका वित्तीय संस्थालाई उल्लिखित रकम प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ ।
सोही क्रममा आइतबारसम्म बैंक तथा वित्तीय संस्थाले ३ अर्ब ६० करोड रुपैयाँ लगिसकेका छन् । बैंक तथा वित्तीय संस्थाले असोज १०/१२ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने जानकारी राष्ट्र बैंकलाई गराएका छन् ।
दसैं र तिहारका अवसरमा हरेक वर्ष औसतमा ६० देखि ७० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् ।
दशैं हर्ष उत्सास ठूलो पर्व भएकोले यो पर्वमा मान्यजनको हातबाट टिका जमरा र दक्षिणा ग्रहण गर्ने प्रचलन छ । दक्षिणा दिँदा नयाँ नोटले शोभा बढाउने मान्यता छ ।
