आजबाट नयाँ नोट वितरण सुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि आज (सोमबार) बाट नयाँ नोट वितरण सुरु गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालयसँगै प्रादेशिक र अन्य कार्यमार्फत नयाँ नोटको वितरण सुरु गरेको हो ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालका अनुसार, बैंकका केन्द्रीय, प्रादेशिक र अन्य कार्यालयसँगै इजाजत पत्र बैंक तथा वित्तीय संस्थाले तोकेको शाखामार्फत समेत नयाँ नोट साट्न सकिन्छ । यस वर्ष दशैं, तिहार लक्षित नयाँ नोट एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँसम्म साट्न सकिनेछ । बैंकले रु. ५, रु. १०, रु. २०, रु.५० र रु.१०० दरका एक/एक गड्डीका दरले १८ हजार ५ सय रुपैयाँसम्म साट्न पाउने प्रदान गर्नेछ ।
हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष भने कोरोना महामारीका कारण नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमणको दर घटेपनि जोखिम बढ्दो रहेकोले स्वास्थ्य मापदण्ड अपनाएर दशैंका लागि नयाँ नोट विरतण गर्न लागेको राष्ट्र बैंकले जनाइएको छ ।