काठमाडौंमा भेटिए मकवानपुरका ३ बालबालिका
मकवानपुर । घरबाट विद्यालय जान्छु भनि निस्किए बेपत्ता भएका मकवानपुरका ३ जना बालबालिका काठमाडौंबाट उद्दार गरिएको छ । जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर ९ स्थित कालिका विद्यालयमा अध्ययनरत ३ बालबालिकालाई आइतबार काठमाडौंबाट उद्दार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा काठमाडौं महानगरीय प्रहरीको टोलीले आइतबार साँझ फेला पारेको हो । घरबाट पढ्नका लागि विद्यालय जान्छु भनेर हिडेका कैलाश गाउँपालिका वडा नम्वर ९ का ११ वर्षीया बालिका बाटुली सुनार, १० वर्षीया सुस्मा योञ्जन र १३ वर्षीय बोध सुनारलाई काठमाडौंमा हिडिरहेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देबेन्द्र दासले जानकारी दिए ।
उनका अनुसार, आइतबार बिहान बेपत्ता भएका उनीहरु गाडीमा काठमाडौं पुगेका थिए । काठमाडौंमा उनीहरुको फुपुको घर भएको र यसअघि पनि उनीहरु काठमाडौं जाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरुलाई उद्दार गरी काठमाडौंमा रहेको फुपुकोे जिमा लगाइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
