नेपाली कांग्रेस : पौडेलले बोलाए आफ्नो समूहको बैठक
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहको बैठक बोलाएका छन् ।
बैठक आज (सोमबार) दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको नेता मिनेन्द्र रिजालले जानकारी दिए ।
पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न लागि बैठक बोलाइएको नेता रिजालले बताए ।
२० जिल्लाको क्रियाशील सदस्यता विवाद, महाधिवेशनको निष्पक्षता लगायतका विषयमा छलफल गर्न पौडेलले बैठक राखेका बुझिएको छ ।
गत भदौ १८–२५ गतेभित्र ५७ जिल्लामा वडा अधिवेशन भएपनि २० जिल्लाको क्रियाशील सदस्यता नामावली नै सार्वजनिक नभएपछि उक्त जिल्लामा असोज ५ गते वडा अधिवेशन तोकिएको छ । तर क्रियाशील सदस्यताको विवाद झै पनि टुंगिएको छैन ।
