आज मकवानपुरको राक्सिराङ गाउँपालिकामा सार्वजनिक विदा

तु खबर संवाददाता
२०७८ भाद्र २२, मंगलवार ०९:०१

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा आज (मंगलबार) सार्वजनिक विदा छ ।

गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै चेपाङ जातिको महान पर्व छोनाम न्वागीको अवसरमा सार्वजनिक विदा दिने जानकारी गराएको हो ।

चेपाङ समुदायको बाहुल्यता रहेको सो गाउँपालिकामा छोनाम न्वागी पर्वलाई महत्वका साथ मनाउने गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।

गाउँपालिकाले जारी गरेको सूचनामा कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस पर्व स्वास्थ्य सुरक्षाका उच्चतम मापदण्ड एवम् भौतिक दुरी कायम गरी यस पर्व मनाउन सम्पुूर्ण चेपाङ समुदाय एवम् गाउँवासीलाई अनुरोध गरेको छ ।