कर्रा खोलाले बगाएर बेपत्ता भएका अर्का एक जनाको शव फेला

तु खबर संवाददाता
२०७८ भाद्र २०, आईतवार ०७:५१
file-photo

मकवानपुर । गत शुक्रबार दिउँसो कर्रा खोलामा ट्रकसहित बगाएर बेपत्ता भएका अर्का एक जनाको पनि शव फेला परेको छ ।

कर्रा खोलाले ट्रकसहित बगाएर बेपत्ता भएका दुई जनामध्ये फेला पर्न बाँकी अर्का एक जनाको पनि आज (आइतबार) बिहानै शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरकाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, उक्त शव रामेछापको तामाकोशी लिखु गाउँपालिका वडा नम्वर ४ घर भई हेटौंडा–६ मा डेरा गरी बस्ने ४० वर्षीय बद्री सार्कीको हो । उनी ट्रक चालक हुन् ।

उनको शव कुमल्टार र चुच्चेखोला जाने पुल मुनी खोला किनारामा फेला  परेको  प्रहरी नायव उपरीक्षक रिमालले जानकारी दिए ।

खोलाले बगाएर बेपत्ता भएकामध्ये काठमाडौंको चन्द्रगिरी नगरपालिका १५ तिन थान बस्ने  ५४ वर्षीय गणेश थापा मगरको शव भने शनिबार साँझ घटनास्थलबाट २०० मिटर तल फेला परेको थियो ।

शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ रामपुरडाँडास्थित कर्रा खोलाले शिवम सिमेन्ट उद्योगबाट चौघडातर्फ आउँदै गरेको ना ४ ख १४४० नम्बरको ट्रकसहित दुई जनालाई बगाएको थियो ।