कर्रा खोलाले बगाएर बेपत्ता भएका २ जना अझै भेटिएनन्
मकवानपुर । शुक्रबार हेटौंडाको कर्रा खोलाले बगाएर बेपत्ता भएका २ जना हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
निरन्तर बर्षापछि कर्रा खोलामा आएको बाढीले ट्रकसहित उनीहरुलाई बगाएको थियो ।
प्रहरीले शुक्रबार नै ट्रक फेला पारे पनि चालक र अर्का एकजना फेला नपरेका हुन् ।
उनीहरुको विहानैदेखि नेपाल प्रहरी र नेपाली सेनाले खोजी गरिरहेको भएपनि अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरीले क्याम्पाडाँडा, चौघडा, चुच्चेखोलामा खोजी कार्य गरिरहेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ रामपुरडाँडास्थित कर्रा खोलाले शिवम सिमेन्ट उद्योगबाट चौघडातर्फ आउदै गरेको ना ४ ख १४४० नम्बरको ट्रकसहित दुईजनालाई बगाएको थियो ।
खोलाले ट्रकका चालक हेटौंडा घर भएका ४० वर्षीय बद्री सार्की र उनका साथी ४० बर्षीय गणेश थापा मगरलाई बगाएको थियो । पानीको बहाव घटेसँगै ट्रक करिब १०० मिटर पर फेला परेको थियो ।
