मकवानपुरका विद्यालय आइतबारदेखि संचालनमा आउने

तु खबर संवाददाता
२०७८ भाद्र १७, बिहीबार १६:१७

मकवानपुर । लामो समयदेखि बन्द रहेको मकवानपुरका विद्यालयहरु आइतबारदेखि संचालनमा आउने भएको छ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण महामारीका कारण बन्द रहेको मकवानपुरका विद्यालय आइतबारदेखि संचालनमा आउने भएको हो ।

आज (बिहिबार) बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले जिल्लाको स्थानीय तहलाई संक्रमणको जोखिमको अवस्था हेरेर विद्यालय खोल्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेका अनुसार, डिसिसिएमसी बैठकमा विभिन्न विद्यालयसँग सम्बन्ध रहेका विभिन्न संगठनले तयार पारिएको आचारसंहिताको प्रतिवेदन प्रस्तुत गरिएपश्चात विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले नगर/गाउँपालिकामा रहेका शिक्षा समितिले अब बैठक बसी आफ्नो स्थानीय तहको क्षेत्रमा विद्यालय खोल्ने छलफल गरी सञ्चालन गर्न अनुमति दिएको हो ।