मकवानपुरमा विद्यालय संचालनको लागि आज प्रतिवेदन पेश हुने
मकवानपुर । लामो समयदेखि बन्द रहेका मकवानपुरका विद्यालयहरु सञ्चालन गर्ने विषयमा आज जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेश हुने भएको छ ।
कोरोनाका कारण बन्द रहेका विद्यालय सञ्चालनका लागि अध्ययन गर्न गत साता गठन भएको कार्यदलले आज (बिहीबार) जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सो सम्बन्धी अध्ययन प्रतिवेदन पेश गर्ने भएको हो ।
विद्यालय सञ्चालनका लागि बनेको कार्यदलले आवश्यक सम्पूर्ण काम गरेर सकाएकाले प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई प्रतिवेदन प्रस्तुत गर्न लागेको कार्यदलका संयोजक तथा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख प्रेमराज खरेलले जानकारी दिए ।
प्रतिवेदन बुझाइसकेपछि मात्र कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले विद्यालय खोल्ने वा नखोल्ने भन्ने विषयमा निर्णय गर्ने उनले बताए ।
कोरोना महामारीका कारण झण्डै डेढ वर्षदेखि प्रभावित बनेको मकवानपुरको शिक्षा क्षेत्र अब सञ्चालन हुनसक्ने सम्भावना बढेको छ । जिल्लामा कोरोना संक्रमणको दरमा कमी हुँदै गएकाले पनि विद्यालय खुल्नुपर्ने माग अभिभावक तथा सम्बन्धित निकायले गर्दै आएका छन् ।
