अब हेटौंडा सामुदायिक आँखा अस्पतालमा दिउँसो पनि सेवा प्रवाह हुने
मकवानपुर । हेटौंडा सामुदायिक आँखा अस्पतालले सेवा समय विस्तार गरेको छ । बिहान मात्र आँखा जाँच हुने अस्पतालमा अब दिउँसो पनि सेवा प्रवाह हुने भएको हो ।
आज (बुधबार) बाट अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म थप सेवा विस्तार गरिएको अस्पतालका प्रशासन प्रमुख सुधिर श्रेष्ठले जानकारी दिए ।
बिहान मात्रै सेवा संचालन गर्दा बिरामीको चाप अधिक हुने र भनेको बेलामा बिरामीले सेवा पाउन सकस भएकोले सेवा विस्तार गरिएको श्रेष्ठले बताए ।
अस्पतालको विस्तारित सेवाको लागि नाम दर्ताको समय दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको र जाँच अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म हुने बताइएको छ । सेवाको नाम दर्ता टेलिफोनबाट पनि गर्न सकिने अस्पतालले जनाएको छ ।
सेवा शुल्क भने बिहानको भन्दा बेलुकीको बढी रहेको जनाइएको छ । बिरामीले बिहान उपचारको लागि रु १ सय ५० शुल्क तिर्नुपथ्र्यो भने बेलुकी ४ सय ५० तिर्नुपर्ने हुन्छ । अस्पतालमा हाल बिहान ६ बजेदेखि ११ बजेसम्म टोकन वितरण हुँदै आएको छ ।
अस्पतालमा दैनिक अन्दाजी ३०० भन्दा बढी व्यक्ति सेवा लिन आउने गरेको जनाइएको छ ।
