घर आगलागी हुँदा दम्पतीको मृत्यु
लम्जुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) स्थित एक घरमा गएराति आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।
घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी ४५ वर्षीया श्रीमती पशुपति भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०–१५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर आएका थिए । पेशाले धर्मराज पूर्वगोरखा सैनिक रहेको र छोराछोरी कोही नभएको स्थानीयको भनाइ छ ।
ग्यास लिक भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । ढुंगामाटोको गाह्रो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
