हेटौंडाको राप्ती खोलामा महिलाको शव फेला
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ नेवारपानीस्थित राप्ती खोलामा एक जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार, राप्ती खोलामा अन्दाजी वर्ष ६० को एक महिलाको शव फेला परेको हो ।
उक्त शव रामेछाप सुनापति गाउँपालिका वडा नम्वर १ घर भई हेटौंडा–६ पुतली बजार माइती भएकी रत्नमाया गौतमको रहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।
सँगै सुतेकी गौतम नभेटिएपछि निजको आफन्तले खोजी गर्दा निजले लगाएको चप्पल हेटौंडा–६ पुतलीबजारमा रहेको कर्रा पुलको विचमा फेला परेको थियो ।
चप्पल पुलमा फेला परेपछि खोलामा हामफालेको अनुमानका आधारमा वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्ट, ईलाका प्रहरी कार्यालय पशुपतिनगर र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको २० जना प्रहरीको टोली, हेटौंडा–६ का जनप्रतिनिधि र स्थानीयले कर्रा तथा राप्ती खोलामा खोजी कार्य सुरु गरेको थियो ।
खोजी कार्य गर्दा उनको शव हेटौंडा–१९ स्थित राप्ती खोलामा फेला परेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । उनका अनुसार, मृतक गौतमको शव मुचुल्का उठाउने काम भइरहेको छ ।
