झाडापखाला लाग्नुको कारण के हो ? कसरी बच्ने ?

तु खबर संवाददाता
२०७८ श्रावण २, शनिबार १७:१८

अहिले गर्मी तथा वर्षातको समय छ। गर्मी तथा वर्षातको समयमा धेरै व्यक्ति तथा बालबालिकाहरुमा झाडापखालाको समस्या देखिन सक्छ ।

२४ घण्टामा ३ वा ३ भन्दा बढी पटक पानी जस्तो पातलो दिसा हुनुलाई पखाला लागेको भनिन्छ। झाडापखाला लाग्दा शरीरमा भएको पानी, नुन, खनिज तथा पोषक तत्व खेर जान्छ र शरीर कमजोर हुन्छ।

झाडापखाला मुख्य गरेर आँखाले देख्न नसकिने सूक्ष्म जीवाणुबाट लाग्ने रोग हो। यो रोग सबै उमेर समूहका मानिसलाई लाग्दछ तर बढी मात्रामा कुपोषित, फोहोर खाना र पानी खाने तथा फोहोर वातावरणमा रहने, व्यक्तिगत सरसफाइमा ध्यान नदिने मानिसहरुलाई बढी मात्रामा लाग्छ। झाडा पखाला लागेर जलवियोजन भइ बालबालिकाहरुको मृत्यु नै हुने जोखिम समेत रहन्छ ।

झाडा पखाला विशेष गरी दिशा मुखबाट गएर लाग्ने रोग हो। दुषित पानी पिएमा, सडे गलेको, झिँगा बसेको खाना खाएमा, काँचै खाने तरकारी वा फलफूल सफा नगरी खाएमा, हात नधोई खाना खाएमा दिसामा भएका रोगका जिवाणुहरु पानी, खाना र हातको माध्यमबाट शरीर भित्र प्रवेश गर्दछ र झाडा पाखाला लाग्छ।

झाडा पखालाका कीटाणुहरु गर्मी मौसममा बढी सक्रिय हुन्छन्। गर्मी मौसममा खानेकुरा पनि छिटो गल्छन् र कुहिन्छ।

झाडापखालाका लक्षणहरु

–झाडापखाला लाग्दा धेरै पटक दिसा लाग्छ।
–वान्ता पनि हुनसक्छ।
–शरीरमा पानीको मात्रा कम हुँदै जान्छ र जलवियोजन हुन्छ।
–जलवियोजन भएमा धेर्र तिर्खा लाग्ने, जिव्रो सुक्खा हुने, आँखा गड्ने, पिसाब थोरै हुने वा पिसाब नै नहुने, बच्चामा पेटको छाला तानेर छाड्दा विस्तारै फर्किने, बिरामी सिथिल हुँदै जाने, बच्चाले दूध चुस्न नसक्ने रुदा आँसु नआउने, झिभिने वा वेहोस हुने पेट दुख्ने र ६ महिनाभन्दा कम उमेरको बच्चा भएमा तालु धसिने समस्या देखिन्छ।

झाडापखाला लागेको बिरामीलाई समयमा नै उचित उपचार गरिएन भने बिरामीको मृत्यु समेत हुनसक्छ।

झाडापखाला लाग्दा घरमै उपचार गर्ने ४ तरिका यस्ता छन्

–पखाला सुरु हुनासाथ अघिपछि भन्दा बढी झोल कुराहरु पटक पटक खाने
झोल कुराहरु आमाको दूध, गेडागुडी वा दालको रस, फलफूलको रस, भातको माड, पुनर्जलीय झोल वा सफा पानी खुवाउनु पर्छ।
–साविक बमोजिम खाना खुवाई रहने, बालबालिकालाई झाडापखाला लागेको छ भने नरम तथा सजिलैसँग पच्ने खानेकुराहरु पटक पटक खान दिनुपर्छ। कुपोषण हुन नदिन, पखाला थामिएपछि २ हप्तासम्म हरेक दिन अघिपछि भन्दा १ पटक बढी खाना खान दिनुपर्छ। लिटो, जाउलो, पारिवारिक खाना, दूध, दही, मौसम अनुसारको फालफूल, परिवारे खाने खाना खुवाउन सकिन्छ ।

–१० दिनसम्म जिंक चक्की खुवाउने
झाडापखाला लागेका िबरामी बच्चाहरुलाई जिंक चक्की १० दिनसम्म खुवाउनु पर्छ।
–खतराका चिन्हहरु देखिएमा स्वास्थ्य संस्थामा प्रेषण गर्ने

झाडापखाला लागेका बालबालिकाहरुमा आँखा गाडिएको, सुस्त हुने वा वेहोस हुने, तारान्तार बान्ता भइरहेमा, पेटको छाला तानेर छोड्दा बिस्तारै फर्किएमा, ज्वरो आएमा, धेरै पटक पालतो दिसा गरेमा, बच्चा ज्यादै तिर्खाएमा वा खान पिउयन नसक्ने भएमा र दिासामा रगत देखा परेमा तुरुन्त नजिकको अस्पतालमा उपचारका लागि लैजानुपर्छ।

झाडापखालाबाट बच्न के गर्ने ?

–खुल्ला ठाउँमा दिसा पिसाबन गरी चर्पीमा मात्र दिसा पिसाब गर्ने र बच्चाको दिसा पिसाब चर्पिमा नै विर्सजन गर्ने।
– पानी फिल्टर गर्ने, उमाल्ने वा अन्य तरिकाले शुद्धिकरण गरी पानी पिउने गर्नुपर्छ।
– काँचो खानेकुरा राम्रोसँग सफा पानीले धोएर मात्र खाने।
– खाना पकाउनु, खाना खानु र बच्चालाई खाना खुवाउनु अघि र चर्पी गइसकेपछि बालबालिकाको दिसा पिसाब सफा गरेपछि र फोहोर कुरा छोएपछि राम्ररी सफा पानी र साबुनले मिचिमिचि हात धुनुपर्छ।
–खानेपानीको मुहान सरसफाई र सुरिक्षण राख्नुपर्छ।

स्वास्थ्य खबर डटकमबाट साभार गरिएको

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*