महन्थ पक्षका ५ सांसद उपेन्द्र पक्षको बैठकमा
काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर निकट मानिएका ५ सांसद अर्का अध्यक्ष उपेन्द्र यादव पक्षको बैठकमा सहभागि भएका छन् ।
फुटको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको जनता समाजवादी पार्टी जसपा भित्रको समिकरण नयाँ विकासक्रम देखा परेको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको निर्णयपछि फुटको डिलमा पुगेको जसपामा ओली सरकारको बहिर्गमनसँगै नयाँ परिदृष्य देखा परेको छ ।
जसपामा अहिले महन्थ ठाकुर र राजेन्द्र महतो तथा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष गरी स्पष्ट दुई समूह विभाजित छन्। उनीहरुले आफूलाई आधिकारिक दाबी गरेपछि विवाद अहिले निर्वाचन आयोगसम्म पुगेको छ ।
यही क्रममा महन्थ पक्षका सांसदहरु उपेन्द्र पक्षमा जान थालेका छन्। शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा उपेन्द्र पक्ष सहभागी हुने भएपछि त्यसको असर जसपाभित्रको समीकरणमा देखिएको छ।
शनिबार महन्थ पक्षका पाँचजना सांसदहरु उनलाई छाडेर उपेन्द्र पक्षमा पुगेका छन्। उनीहरु शनिबार उपेन्द्र पक्षको संसदीय दलको बैठकमै सहभागी भएका हुन् ।
महन्थ पक्षका प्रमोद साह, रुही नाज, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाल आफ्नो पक्षको बैठकमा सहभागी भएका हुन् ।
