प्रजातान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा स्वभाभिक, कांग्रेस एक ढिक्का छ– प्रवक्ता कोइराला
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले प्रजातान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनु स्वभाभिक भएको प्रतिक्रिया दिएका छन् ।
सदस्यता विवादको विषयमा तु खबरसंग कुराकानी गर्दै प्रवक्ता कोइरालाले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकोले यहाँ सबैले समान रुपमा आफ्नो धारणा अभिव्यक्त गर्न पाउने, सबैको मतको सम्मान हुने र सकारात्मक प्रतिस्पर्धा गर्न पाउने बताए ।
बजारमा अर्कै किसिमको हल्ला फिजाइएको भएपछि कांग्रेस एक ढिक्का रहेको उनले स्पष्ट पारे ।
‘१४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसमा सदस्यता विवाद तीब्र भयो भन्दै विपक्षीले बजारमा हल्ला फिजाइरहेका छन् । संस्थापन पक्षले अर्को पक्षलाई पेल्यो भन्दै आन्तरिक द्वन्द्ध सृजना गर्ने काम भइरहेको छ । क्रियाशिल सदस्यताको विषयमा केही असहमति भएकै हो । तर छलफल र सहमतिबाटै त्यस विषय टुंगोमा पुर्याउने क्षमता कांग्रेसमा छ, हामी टुंगाउँछौँ ।’ उनले भने ।
सदस्यता विवाद के हो ?
मकवानपुरमा नेपाली कांग्रेसका ४ हजार २ सय ४२ क्रियाशिल सदस्य रहेका छन् । थप ५ हजार २ सय ७८ जनाको नामावली केन्द्रमा पठाइएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ र ९ मा नयाँ सदस्यता विवाद छ । त्यस्तै समायोजन प्रक्रियामा सहभागि नभएको फोरम लोकतान्त्रिकका नाममा थप २१ जनाले मकवानपुरमा क्रियाशिल सदस्यता पाएको भन्दै कांग्रेसभित्रै मतभेद भएको हो ।
नयाँ क्रियाशील सदस्यको रुपमा समायोजन गरिएका सम्पूर्ण नामावली खारेज गरिनुपर्ने, वडा नम्वर २ को विवादित र एकलौटी ढंगले समायोजित सम्पूर्ण नयाँ क्रियाशील खारेज गरिनुपर्ने, हेटौंडा ९ को वडा इकाई समितिले सम्पूर्ण विधि र प्रक्रियाबाट सिफारिस गरेको भन्दाबाहेकका नामावली रद्ध गरिनुपर्ने र साविक अस्तित्व नभएको लोकतान्त्रिक फोरमको नाममा षडयन्त्रपूर्वक योजना बनाएर थपिएका २१ जनाको नामावली रद्ध गरिनुपर्नेलगायतका माग एक पक्षले राखेको छ ।
कांग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, महासमिति सदस्यहरु रिता खनाल, उमा दाहाल, जयराम लामिछाने, नेविसंघका केन्द्रीय महामन्त्री प्रभात दाहाललगायतका नेताहरुले केन्द्रीय कार्यालय सानेपामा बुधबार धर्नासमेत दिएका थिए ।
पार्टीको सदस्यता विवाद टुंग्याउन जिल्ला सभापति र सचिवद्वयको लिखितपत्र केन्द्रमा पठाइएको भएपनि जिल्लाको पहललाइसमेत केन्द्रीय कार्यालयबाट लत्याएर परिपत्र भएको भन्दै पूर्वसभापति अर्यालसहितका नेताहरु धर्नामा बसेका हुन्
२०७४ सालमा नेपाली कांग्रेस र विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबीच समायोजन भएपनि मकवानपुरमा समायोजन अवस्था फितलो हुनपुग्दा फोरमबाट कांग्रेसमा कुनै कार्यकर्ता प्रवेश नगरेको भएपनि हाल कांग्रेसको नयाँ क्रियाशील सदस्यमा सिफारिस नगरिएका २१ जनाको नाम सार्वजनिक भएको भन्दै फोरम लोकतान्त्रिक अध्यक्ष हरिकृष्ण मैनालीले आपत्ती जनाउँदै ध्यानाकर्षण सार्वजनिक गरेका छन् ।
महाधिवेशनको चटारो
कांग्रेसमा आसन्न १४ औँ महाधिवेशनको चटारो छ । क्रमश, साउन १२ गते वडा, १६ गते नगर तथा गाउँपालिका र २६ गते जिल्ला स्तरिय महाधिवेशन हुँदैछ भने भदौ १ र २ गते प्रदेशस्तरीय तथा केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म का लागि मिति तय भएको छ ।
जिल्ला सभापतिका लागि करिब ६ जनाले आकांक्षा व्यक्त गरेको प्रवक्ता कोइराला बताउँछन् ।
संघको महाधिवेशन प्रतिनिधिमात्रै जिल्ला सभापति हुन पाउने व्यवस्था भएकोले साउन २३ गतेपछि मात्रै कांग्रेस मकवानपुरको सभापतिका आकांक्षीहरु बारे बताउन सकिने उनको भनाई छ ।
वर्तमान सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले भने प्रदेश सभापतिको लागि तयारी गरिरहेको प्रवक्ता कोइराला बताउँछन् ।
नवनियुक्त प्रधानमन्त्रीलाई बधाई
प्रवक्ता कोइरालाले सर्वोच्च अदालतले संविधान र लोकतन्त्रको रक्षा गर्दै प्रतिनिधिसभा पुनस्र्थापना गरेको र कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्नु निकै स्वागतयोग्य भएको उनले बताए ।
उनले नवनियुक्त प्रधानमन्त्री देउवालाई सफल कार्याकालको शुभकामना दिँदै प्राथमिकताका साथ सुरुमा कोरोनाको चपेटामा परेका जनतालाई तत्काल खोपको व्यवस्थापन गर्र्न, ओली सरकारको नेतृत्वमा भएका गैरसंवैधानिक नियुक्ती सच्याउन र जनताको भावनाअनुरुप विवादमा नपरी काम गर्न सुझावसमेत दिए ।
