बहुमत पुग्ने पक्का भएपछि मात्रै देउवाले विश्वासको मत लिने
मकवानपुर । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत पुग्ने परिपक्क भएपछि मात्रै विस्वासको मत लिने दिन तय गर्ने भएका
छन् ।
उनले प्रधानमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । अर्थात उनले अब २८ दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
देउवालाई विस्वासको मत दिने पक्षमा विपक्षी गठबन्धनका नेताहरु सकारात्मक भएको भएपनि विश्वासिलो आधार भने तय भइसकेको
छैन ।
नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्ष, नेकपा एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने भन्दै हस्ताक्षर गरेका छन् ।
विपक्षी गठबन्धनका माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले विश्वासको मत दिने पक्का छ । देउवाले विश्वासको मत पाउने वा नपाउने माधव पक्षको हातमा छ ।
दलहरुमा छलफलको क्रम सुरु गरेका प्रधानमन्त्री देउवाले एमाले नेता नेपाललाई बुधबार उनकै निवास कोटेश्वरमा भेटेका थिए। विश्वासको मत दिएर सरकारमा सहभागी हुन उनले नेपाललाई आग्रह गरेका थिए ।
बैठकमा सहभागी नेपाल पक्षका नेता विरोध खतिवडाले देउवा सरकारको पूरा कार्यकाल हुने दाबी गरे।
विश्वासको मत दिएपनि सरकारमा सहभागी नहुने माधव पक्षका केही नेताको अभिव्यक्ति छ। विश्वासको मत दिँदा पार्टीको कारबाही भोग्न समेत तयार रहेको खतिवडाले बताए।
