मुख्यमन्त्री पौडेलको स्पष्टिकरण: ‘आमसंचार’ रेडियो टेलिभिजन र पत्रिका होइन, छापाखाना हो
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विपक्षीे दलहरुको विरोधपछि आमसंचार गृहलाई छापाखानाको रुपमा परिभाषित गरेका छन् ।
प्रदेश सरकारकै मातहतमा आमसंचार गृह संचालनको योजनासहित १० करोड रुपैयाँ बजेट विनियोजनको प्रस्ताव अघि सारेका मुख्यमन्त्री पौडेलले उक्त बजेट रेडियो, टेलिभिजन र पत्रिका संचालन गर्न नभई छपाई सम्बन्धी काम गर्ने छापाखाना संचालन गर्ने योजना रहेको बताए ।
प्रदेश सरकारको करोडौं बजेट छपाई सम्बन्धी कार्यमा खर्च हुने गरेको भन्दै मुख्यमन्त्री पौडेलले सो खर्च कटौतीका लागि आमसंचार गृह संचालन शिर्षकमा बजेट छुट्याएको स्पष्टिकरण बैठकमा पेश गरे ।
मिडियाले प्रदेश सरकारको तीब्र आलोचना गरेको भन्दै प्रदेश सरकारकै मातहतमा रहने गरी मिडिया संचालन गर्न सो योजना अघि सारिएको विपक्षी दलका नेताहरु बताउँछन् । प्रदेशसभाको बैठकमा विपक्षी दलहरुले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने काम सरकारबाट भएको भन्दै विरोध गरेपछि मुख्यमन्त्री पौडेलले आमसंचार गृहलाई छापाखानाको रुपमा परिभाषित गरेका हुन् ।
