प्रदेशसभाको बैठक स्थगित, भोलि ११:३० बजे बस्ने
मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न ३ बजेका लागि तय भएको बैठक स्थगित भएको छ । विशेष कारण देखाउँदै सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका हुन् ।
उनले अब भोलि २७ गते दिनको ११ः३० बजे बैठक आह्वान गरिएको जानकारी दिए ।
प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजित बजेटमाथि क्रमागत रुपमा मन्त्रालय शिर्षकमा छलफल गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र विवेकशील साझा दलका नेताहरुले समष्टिगत रुपमा विभिन्न योजना तथा बजेटको बाँडफाँडमा पक्षपात गरिएको भन्दै असार २१ गते देखि संसद् अवरुद्ध गर्दै आएका थिए ।
त्यसैगरी प्रदेशसभा सचिवालयमा हिजो मात्रै कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर आजको लागि बैठक संचालन गर्ने सहमति भएको भएपनि प्रतिपक्षी दलहरुसंग सरकारको सहमति नभएको कारण आजको बैठक सार्नु परेको नेपाली कांग्रेसका सचेतक छिरिङदार्जे लामाले बताए ।
