सांसद गोसाईको प्रतिवेदन प्रेमी सरकार शीर्षकको कविता

तु खबर संवाददाता
२०७८ असार १८, शुक्रबार १६:०९

मकवानपुर । बागमती प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले कविता प्रस्तुत गरेका छन् ।

सांसद गोरसाईले प्रतिवेदन प्रेमी सरकार शीर्षकको कविता प्रस्तुत गरेका हुन् ।

यस्तो छ उनको कविता

प्रतिवेदनप्रेमी सरकार !
गाउँमा पहिरो जान्छ
मानिस, घर, गाइवस्तु पहिरोले पुर्छ
मन्त्री र मन्त्रीहरू पजेरोमा
अवलोकन भ्रमणमा जान्छन्
फर्केर आई मोटो प्रतिवेदन तयार गर्छन् ।

बाढीले वस्ति डुबाउँछ
बाढीले वस्ति बगाउँछ
मन्त्री र मन्त्रीहरू हेलिकप्टरमा
अवलोकन भ्रमणमा जान्छन्
फर्केर आई मोटो प्रतिवेदन तयार गर्छन्।

हावाहुरीले वितण्डा मचाउँछ
हावाहुरीले पुल उडाउँछ
एक बथान मन्त्री र मन्त्रीहरू
अवलोकन भ्रमणमा जान्छन्
फर्केर आई मोटो प्रतिवेदन तयार गर्छन्।
हरेक विपत्ति, हरेक भ्रमणपश्चात्
सरकार प्रतिवेदन संसदमा प्रस्तुत गर्छ
मन्त्री र मन्त्री आकाङ्क्षीहरू ुहुन्छु भनी निर्लज्ज डकार्छन्
र, फेरि अर्को प्रतिवेदन लेख्ने बैधानिकता माग्छन्।

मेरो सरकार प्रतिवेदनप्रेमी सरकार
प्रतिवेदन लेख्छ, प्रतिवेदन बुझाउँछ !
थाहा छैन, के खान प्रतिवेदन लेख्छ ?
थाहा छैन, के खाएर प्रतिवेदन लेख्छ ?
तर, मेरो सरकार निरन्तर प्रतिवेदन लेखिरहेछ ।
हरेक साल बाढी आउँछ, सरकार प्रतिवेदन लेख्छ
हरेक साल पहिरो जान्छ, सरकार प्रतिवेदन फेरि लेख्छ
वाह, क्या गज्जब प्रतिवेदनप्रेमी सरकार !

त्यसैले त प्रतिवेदननै प्रतिवेदनमा भेटिन्छ मेरो सरकार।
त्यसैले त बाढी पीडित, पहिरो पीडित भन्दैछन्
अन्नको काल पृथ्वीको भार
सरकार, तँलाई धिक्कार !

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*