माधव नेपाल निकटका राईले दिए निर्वाचन आयोगमा दल दर्ताको निवेदन
मकवानपुर । नेकपा एमालेको माधव नेपाल पक्षका युवा नेताले निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएका छन् ।
युवा नेता जीवन राईले आफु अध्यक्ष रहने गरी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) नामक दल दर्ताको लागि निवेदन दिएका हुन् ।
उनी माधव पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुन् । गत वैशाख ७ गते दल दर्ताको निवेदन परेपनि दर्ता हुने क्रममा रहेको निर्वाचन आयोगले जनाएको छ ।
२५ सदस्यीय केन्द्रीय कमिटी रहेको सो दलमा अध्यक्षमा जीवन राई, कल्पना गुरुङ उपाध्यक्ष, बिनोद कुमार खुलाल महासचिव, ऐन बिक्रम कुँवर सचिव र सुशीला खनाल कोषाध्यक्ष रहेका छन् ।
दल दर्ताका लागि पेश गरेको कागजात अध्ययन गर्ने काम भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले भने–‘दल दर्ताका लागि प्राप्त निवेदन र कागजात अध्ययन गर्ने काम भइरहेको छ ।
पार्टीको विधान, घोषणापत्र, केन्द्रीय कमिटी बैठकका माइन्यूट, पदाधिकारीको हस्ताक्षरको सनाखत लगायतको अध्ययन भइरहेको छ । सबै प्रक्रिया पुगेको रहेछ भने आयोगको निर्णयबाट दल दर्ता हुन्छ ।’
नेकपा एमालेभित्र विवाद भइरहेको अवस्था माधव नेपाल निकट मानिने राईले दल दर्ता गराउन लागेको विषयलाई चासोका साथ हेरिएको छ ।
