एउटै विमानमा दिल्लीबाट हङकङ पुगेका ५२ जनामा कोरोना संक्रमण
दिल्ली । दिल्लीबाट हङकङका लागि उडेको विमानका ५२ जना यात्रीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भारतीय एयरलाइन्स भिस्ताराद्वारा सञ्चालित विमानमा गत अप्रिल ४ मा यात्रा गरिरहेका ५२ यात्रीमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएका सबैले विमानमा यात्रा गर्नुअघि कोरोनाको नेगेटिभ रिपोर्ट देखाएका थिए ।
यो विमानभित्र भेटिएका कोरोना संक्रमितभन्दा पूरा हङ्गकङभर दैनिक भेटिने गरेका संक्रमितको संख्या कम छ । हङ्गकङले जनवरीमा कोरोनाको चौथो लहरमाथि नियन्त्रण पाएको थियो । यता भारतमा भने दैनिक २८ सय बढीको मृत्यु भइरहेको छ । त्यहाँको स्वास्थ्य प्रणाली पनि धराशयी बनेको छ ।
उक्त विमानमा १८८ जना यात्री भएको बताइएको छ । यद्यपि, हङकङका अधिकारीले यात्रीको यकिन जानकारी दिएको छैन ।
